काठमाडौं । अघिल्ला अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदमा नियुक्ति प्रक्रिया अन्तिम चरणमापुगेको छ ।
अध्यक्षमा उम्मेदवा दिएकाहरुबाट लिइएको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता शुक्रबार सम्पन्न भएको छ । करिब डेढ महिनादेखि नेतृत्वविहीन रहेको बोर्डले यसै साता नयाँ नेतृत्व पाउने पक्कापककी भएको छ ।
अघिल्लो सरकारले सन्तोष नारायण श्रेष्ठलाई २०८० मंसिरमा ४ वर्षको लागि बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। राष्टिय स्वतन्त्र पाटीको बहुमतको नयाँ सरकार गठन भएपछि श्रेष्ठले गत वैशाख ४ गते पदबाट राजीनामा दिए हुन्।
त्यसयता बोर्ड अध्यक्ष विहीन छ । उनको बाँकी कार्यकालको लागि अर्थात् साढे २ वर्ष को लागि बोर्ड अध्यक्षको खोजीमा अहिले सरकार छ ।
सरकारले बोर्ड अध्यक्षको लागि सिफारिस समिति गठन गरी गत वैशाख दोस्रो साता आवेदन माग गरेको थियो। जसमा ४७ जनाको आवेदन परेको थियो भने, समितिले ४ जनाको सटलिस्ट गरेर शुक्रबार अन्तर्वार्ता समेत सम्पन्न गरेको हो । सटलिस्टमा डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, गोपाल प्रसाद भट्ट र विनयदेव आचार्यको नाम छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको अन्तिम प्रतिस्पर्धापछि छनोट सिफारिस समितिले अब तीन जनाको नाम मन्त्रिपरिषद् पठाउने तयारी गरेको स्रोत बताउँछ ।
‘चार जनाकै अन्तर्वार्ता सम्पन्न भयो, प्रस्तुतीकरण दिएका चार जनामध्येबाट योग्यता, कार्ययोजनाको प्रभावकारिता र अन्तर्वार्ताको प्रदर्शनका आधारमा समितिले उत्कृष्ट तीन जनाको सूची तयार गरेर अर्थमन्त्रीज्यूलाई बुझाउँछौँ।’ उक्त सूची अर्थमन्त्रीमार्फत मन्त्रिपरिषद् पेस हुनेछ र सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्षको टुङ्गो लगाउने स्रोत बताउँछ ।