बुधवार, आश्विन १४ गते २०८३

को हुन् धितोपत्र बोर्ड अध्यक्षको दौडमा रहेका अन्तिम चार प्रतिस्पर्धी ?

शनिवार , जेठ ९, २०८३

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अध्यक्ष छनोट समितिले संक्षिप्त सूचिमा रहेका चार जनासँग प्रस्तुति तथा अन्तर्वार्ता समेत सकिसकेको छ ।

चार जनाबाट अन्तिम तीन जनाको नाम अध्यक्ष नियुक्तिको लागि बोर्डले मन्त्रिपरिषद्मा पेश गर्दैछ । 

संक्षिप्त सूचिमा परेका चार जनाको पृष्ठभूमि यहाँ प्रस्तुत गरिएको छ ।

१. डा. नवराज अधिकारीः 
डा. अधिकारी धितोपत्र बोर्डकै पूर्व कार्यकारी निर्देशक हुन्। यही वैशाखमा उमेर हदका कारण अवकाश पाएका उनीसँग बोर्डको भित्री संरचना, कमजोरी र सम्भावनाको गहिरो ज्ञान छ। पुँजी बजारमै विद्यावारिधि (पीएचडी) गरेका अधिकारीले बोर्डमा प्रवक्ता, सचिव र सुपरिवेक्षण विभागको नेतृत्व गरिसकेका छन्।

‘घरकै मान्छे’ भएकाले उनलाई बोर्डका कर्मचारी र बजारको समस्या बुझ्न समय लाग्दैन। उनले आफ्नो कार्ययोजनामा बोर्डको नियमनकारी क्षमता वृद्धि र लगानीकर्ताको हित संरक्षणलाई मुख्य एजेन्डा बनाएका छन्। अधिकारी यसअघि पनि बोर्ड अध्यक्षको प्रतिस्पर्धी थिए।

२. डा. गोपाल प्रसाद भट्टः
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. भट्टका लागि यो दौड तेस्रो हो। यसअघि रमेश हमाल र सन्तोष नारायण अध्यक्ष नियुक्त हुँदा पनि उनी अन्तिम तीन जनाको सूचीमा परेका थिए। ‘स्टक मार्केट इफिसिएन्सी’ मा पीएचडी गरेका भट्टसँग आर्थिक अनुसन्धान र प्राध्यापनको लामो अनुभव छ। राष्ट्र बैंकको विशिष्ट श्रेणीमा रहेर काम गरिसकेकाले उनलाई ठूला वित्तीय निर्णय र नीति निर्माणमा अनुभवी मानिन्छ। यसअघि अन्तिम चरणमा पुगेर पनि सफल नभएकाले यस पटक उनी थप गृहकार्यका साथ मैदानमा उत्रिएका छन्।

३. मुकुन्द कुमार क्षेत्रीः 
चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत रहेका क्षेत्री राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनीसँग धितोपत्र बोर्डको सञ्चालक समिति र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालकका रूपमा काम गरेको प्रत्यक्ष अनुभव छ। बैंक सुपरिवेक्षण विभागको नेतृत्व गरिसकेकाले उनलाई अनुगमन र संस्थागत सुशासनको विज्ञ मानिन्छ। पुँजी बजारलाई पारदर्शी बनाउन र वित्तीय जोखिम न्यूनीकरण गर्न उनी जत्तिको लेखा परीक्षण पृष्ठभूमिको व्यक्ति उपयुक्त हुने तर्क कतिपयको छ।

४. विनयदेव आचार्यः 
बोर्डकै बहालवाला कार्यकारी निर्देशक आचार्य पनि बलिया प्रतिस्पर्धी हुन्। ३० वर्षे सेवा अवधिका कारण अवकाशको नजिक रहेका आचार्यले बोर्डको व्यवस्थापन विभागमा लामो समय बिताएका छन्। एमबीए गरेका आचार्यले बजारको विकास र विस्तारमा कर्मचारी संयन्त्रलाई कसरी परिचालन गर्ने भन्ने राम्रोसँग बुझेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार