काठमाडौं । छिमेकी मुलुक भारतमा अन्तिम एक सातामा तीन पटक इन्धनको मूल्य बढेको छ । भारतले अमेरिका र इरानबीचको युद्धको चर्को असर खेपिरहेको छ ।
सुरुमा मे १५ मा पेट्रोल र डिजेलको मूल्य पहिलोपटक प्रतिलिटर ३ भारुले बढाइएको थिया। त्यसपछि मे १९ मा दोस्रोपटक लगभग ९० पैसाले बढाइएको थियो ।
आजदेखि लागू हुने गरी पुनः तेस्रोपटक पेट्रोल र डिजेलको मूल्य बढेको हो । पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएको हो । अब दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रतिलिटर ९९.५१ भारु पुगेको छ भने डिजेलको मूल्य ९१ पैसाले बढेर प्रतिलिटर ९२.४९ भारु पुगेको छ ।
नेपालले पनि भारतबाट नै पेट्रोलियम पदार्थ आयात गर्ने भएका कारण त्यहाँको मूल्यवृद्धिको असर पर्ने देखिएको छ ।
भारत खाडी मुलुकको इन्धनमा निर्भर छ । अमेरिका–इरान युद्धपछि सप्लाइ चेनमा आएको अवरोधका कारण पटक पटक पेट्रोलियप पदार्थको मूल्य बढाएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
भारतले होर्मुज समुद्री मार्ग हुँदै खाडी मुलुकबाट ठूलो मात्रामा एलपीजी ग्याससहित ठूलो परिमाणमा इन्धन आयात गर्दै आएको छ । युद्धका कारण होर्मुजमा अवरोध भएपछि भारतभर इन्धन अभाव चुलिएको छ ।
विश्वको सबभन्दा धेरै जनसंख्या भएको भारतमा पेट्रोलियम अभावले जनजीवन ठप्प हुने अवस्था छ । तर, सरकारले अझै पनि इन्धन अभावको समस्यालाई सामान्य बताउँदै आएको छ ।
बरु प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नागरिकलाई ईभी गाडी चढ्न, विदेश नघुम्न र सुन नकिनेर डलर बचाउन आग्रह गर्दै आएका छन् ।
भारतमा डिजेल करिब ३५ करोड लिटर प्रतिदिन र पेट्रोल करिब १८ करोड लिटर खपत हुने गरेको छ । तर, इरान युद्धका कारण वितरण प्रणालीमा अवरोध उत्पन्न भएपछि अहिले कति इन्धन खपत भइरहेको छ भन्नेबारे सरकारले यकिन डाटा बाहिर सार्वजनिक गरेको छैन ।
भारतमा अहिले करिब १ लाख २६ हजार बढी पेट्रोल तथा डिजेल पम्पहरु छन् । यीमध्ये इन्धन अभावमा धेरै पम्प अस्थायी रुपमा मात्र सञ्चालनमा छन् भने हजारौं पम्प बन्द भएका छन् ।