सोमवार, श्रावण २५ गते २०८३

बीपी राजमार्गको चारसय बेसी खण्डको नयाँ ट्रयाक १० दिनभित्र सञ्चालनमा आउने

आइतवार , जेठ १०, २०८३


सिन्धुली । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत अत्यन्तै चुनौतीपूर्ण मानिएको चारसय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ ।

संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सो क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका हुन् ।


हाल उक्त खण्डमा सवारीसाधन तलको वैकल्पिक मार्ग बाट गुडिरहेका छन् । माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन।


सभापति गजुरेलका अनुसार उक्त ट्रयाकको फाउन्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ ।

अनुगमनका क्रममा आयोजनाका प्राविधिकले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारीसाधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ । बाढी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ ।

१० किलोमिटरको यस खण्डमा करिब १०० जना कामदार नियमित रूपमा खटिएका छन् । बहुसंख्यक सर्वसाधारण र सरोकारवालाले तीन सिफ्टमा काम गराउन सुझाव दिए पनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल दैनिक १० घण्टाको कार्यतालिका अपनाइएको सभापति गजुरेलले जानकारी दिए ।   ।

परियोजनाअन्तर्गत भकुन्डेबेँसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० मिटरको खण्डलाई अन्तिम संवेदनशील विन्दुका रूपमा लिइएको छ ।

सडकको सुरक्षाका लागि माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ । आगामी असार १५ गतेसम्म यो खण्डलाई पूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी कामलाई तीव्र पारिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार