बागमती । गौरीकुमारी यादव ले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योग को आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीसँग छलफलसमेत गरेकी हुन् ।
उद्योग निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्तै दुःखद् भएको बताउँदै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताइन् ।
“हेटौँडा सिमेन्ट उद्योग नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ, त्यस विषयमा हामीले अध्ययन गरिरहेका छौँ,” मन्त्री यादवले भनिन्, “थुप्रै निजी सिमेन्ट उद्योग नियमित सञ्चालन हुने तर सरकारी स्वामित्वको सिमेन्ट उद्योग बन्द हुने कुरा असाध्यै दुःखद् हो ।”
सरकारले हेटौँडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाइने बताइन् ।
“उद्योग बन्द हुँदा रोजगारी मात्र गुम्दैन, देशको आर्थिक अवस्थामासमेत असर पर्छ,” मन्त्री यादवले भनिन्, “त्यसैले जसरी भए पनि सिमेन्ट उद्योग सञ्चालन गर्न सरकार चाहिरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ ।”
सरकार एक्लैले मात्र चाहेर उद्योग नियमित चल्न नसक्ने भएकाले व्यवस्थापन र कर्मचारीको पनि उत्तिकै सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले बन्द अवस्थामा रहेको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालनका लागि सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताइन् ।
कार्यक्रममा शिवनारायण साह ले मेसिन पुरानो र जीर्ण भएकाले समय–समयमा बिग्रिने तथा आर्थिक सङ्कटका कारण कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द भएको जानकारी दिए ।
मेसिनको मर्मतसम्भार गरेर समय–समयमा थोरै भए पनि सिमेन्ट उत्पादन हुँदै आए पनि पछिल्लो समय कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग बन्द गर्नुपरेको उनले बताए । आर्थिक समस्याका कारण कर्मचारीलाई ११ महिनादेखि तलबभत्ता उपलब्ध गराउन नसकिएको, कच्चा पदार्थ आपूर्तिकर्ताको पुरानो बक्यौता तिर्न नसकिएको तथा बिजुली महसुल भुक्तानी गर्न समस्या भइरहेको जानकारी उनले गराए । तत्काल देखिएको आर्थिक समस्या समाधान गर्न सकिए उद्योग नियमित सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।
वि।सं। २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र प्रभावकारी रूपमा उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।