काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्कअन्तर्गत ग्यालेक्सी टेलिभिजनलाई १५ दिनभित्र भाडा बक्यौता भुक्तान गर्न अल्टिमेटम दिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित बालुवाटारमा मृगेन्द्रप्रसाद मिश्रको घर भाडामा लिएर गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दै आएको थियो।
तर नेटवर्कले झण्डै तीन वर्षदेखि भाडा बुझाएको थिएन। मिश्रले टेलिभिजन सञ्चालक गितेन्द्रबाबु राई (जिबी) विरूद्ध काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए।
न्यायिक समितिले २०८१ कात्तिक १४ गते मिश्रको दाबी बमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराइ घरजग्गा समेत खाली गराइदिने ठहर्छ भनी निर्णय गरेको थियो।
२०८२ साउन २८ गते उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनि काठमाडौं महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो।
अदालतको आदेश बमोजिम २०८२ कात्तिक १४ गते काठमाडौं महानगरपालिकाबाट डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो ।