काठमाडौँ । सरोकारवाला निकायका महत्त्वपूर्ण सुझाव समेट्दै अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा सार्वजनिक गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायत विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् ।
यही जेठ १५ गते गणतन्त्र दिवसका दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।
पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा वाग्ले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन व्यस्त रहेको उनका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिएका छन् ।
सङ्घीय संसद्ले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा सांसदहरूले दिएका सुझावलाई लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई उपलब्ध गराइसकेको छ ।
अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग पनि बजेटबारे छलफल गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाका सुझाव यसअघि नै लिइसकिएको छ । महासङ्घले तीन तहमै लागू हुने गरी आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयसमेत अर्थ मन्त्रालयलाई बुझाएको छ ।
महासङ्घले अर्थमन्त्रीलाई बुझाएको सुझावमा आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेज नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न आग्रह गरेको छ ।
अर्थमन्त्री डा वाग्लेले नागरिकले अब भाषणभन्दा परिणाम खोजिरहेको उल्लेख गर्दै कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको बताएका छन् । उनले पहिलो पटक ‘मिसन मोड’का आधारमा अगाडि बढ्न खोजिएको स्पष्ट पारिसकेका छन् ।
झन्डै दुई तिहाइ जनमत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई निकै महत्त्वका साथ हेरिएको छ । सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद् भवनमा अर्थमन्त्री डा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।