आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्रीले सामाजिक सञ्जालमाथि फोटो सार्वजनिक गरेपछि चिजको व्यापार हवात्तै बढ्यो

बुधवार , जेठ १३, २०८३


बजारमा याक चिजको व्यापार ह्वात्तै बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले एक साताअघि दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित याक चिजको उपभोगको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि चिजको व्यापार बढेको हो ।

अहिले दिनप्रतिदिन यसको माग बढ्दै गएको डिडिसीले जनाएको छ । संस्थानका सूचना अधिकारी नीलकण्ठ गौतमले चिजको व्यापार ५२ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

वैशाखमा प्रतिदिन १२५ केजीका दरले चिज बिकेकामा अहिले दैनिक १९० केजीका दरले बिक्री हुने गरेको उनले जानकारी दिए । साढे आठ हजार केजी चिज मौज्दात रहेको डिडिसीले जनाएको छ ।

हाल दैनिक एक हजार केजी चिज उत्पादन भइरहेको छ । वार्षिक नौ करोड रुपियाँ बराबरको ५० हजारदेखि ६० हजार केजी चिज उत्पादन हुने गरेको डिडिसीले जनाएको छ । डिडिसीले उत्पादन गरेको चिज आन्तरिक बजारमा खपत हुने गर्छ ।

डिडिसीले याक चिज, कञ्चन चिज, मोजरेल्ला चिज उत्पादन गर्दै आएको छ । याक चिज चौँरीको दुधबाट बनाइन्छ । कञ्चन चिज गाई र भैँसीको दुधबाट बन्ने गर्छ ।  याक चिज हिमाली क्षेत्रमा उत्पादन हुने हुँदा अन्यको तुलनामा महँगोसमेत पर्ने गरेको डिडिसीले जनाएको छ । 

डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवाभन्ज्याङलगायतका स्थानमा चौँरीको दुध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको जनाएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार