आइतवार, श्रावण २४ गते २०८३

इजरायलमा २ हजार ३ सय केयरगिभरको माग, मासिक साढे तिन लाख तलब

बुधवार , जेठ १३, २०८३

काठमाडौं । इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग भएको छ ।

\वैदेशिक रोजगार विभागल नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार श्रमिक माग गरेको हो । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न श्रमिक माग गरिएको हो । 

विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएको कुल संख्यामध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष कोटा छुट्याइएको छ । छनोट भएका कामदारले इजरायलमा मासिक ६ हजार ४ सय ४३.८५ इजरायली सेकेल (करिब ३ लाख ४७ हजार रुपैयाँ) बराबर तलब पाउने उल्लेख छ । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

सूचनाअनुसार करार अवधि एक वर्षको हुनेछ भने आवश्यकता अनुसार थप गर्न सकिनेछ । आवेदन दिन चाहने नेपाली नागरिकको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । आवेदक कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल पुगेको हुनुपर्ने तथा सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ ।


विभागका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिनेछ । आवेदन फाराम विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध छ । आवेदन दिने अन्तिम समय २०८३ असार १७ गते बेलुका ५ बजेसम्म तोकिएको छ । अंग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्थासम्बन्धी कागजात तथा स्वघोषणा पत्रसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

छनोट प्रक्रिया गोलाप्रथा प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारको नामावली इजरायली पक्षलाई पठाइने र अन्तिम छनोटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइने विभागले स्पष्ट पारेको छ ।

इजरायल जानुपर्ने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्कलगायत शीर्षकमा निश्चित खर्च व्यहोर्नुपर्नेछ । विभागले तोकेको विवरणअनुसार विभिन्न शुल्क र प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिक इजरायल जान पाउनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार