काठमाडौं। संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या भएको घटनामा अर्का एकजनापनि पक्राउ परेका छन्। मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संम्लग्न देखिएका लोकबहादुर कार्कीका भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन्।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो। प्रहरीले अनुसन्धानका क्रममा आरोपित लोकबहादुरका भाई नरेशको साथबाट हराएको मोबाइल सेट बरामद गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि १० जना प्रहरी टोली घटनास्थल उम्लिङ खोला गाउँमै बसेर अनुसन्धान गरीरहेको छ। हत्या भएका बेला एकैपटक ६ जनाको हत्या भएको हुँदा एकभन्दा बढीको संलग्नता रहेको हुन सक्ने प्रहरीको आशंका छ।
हत्यामा लोकबहादुरको संलग्नता पाइएपनि प्रहरीले हत्याकाण्डमा दाइलाई सहयोग गरेको आशंकामा नरेशमाथि छानबिन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए। यहीबीचमा भाई नरेशबाट मृतकको मोबाइल फेला परेपछि उनिमाथीको आशंका झनै बलियो बन्दै गएको छ। उनिमाथी प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।
गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो।
प्रहरीले एकै परिवारका ६ जनाको हत्यामा संम्लग्न भएको आरोपमा उम्लिङ खोला गाउँकै लोकबहादुर कार्कीलाई ५ दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो।