काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले गणतन्त्र दिवसको अवसरमा पनि देशवासीलाई प्रधानमन्त्री शाहले नै सम्बोधन गर्नुपर्ने बताए ।
पत्र–पत्रिकामा आफूले गणतन्त्र दिवसको अवसरमा आयोजना हुने समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्षता गर्ने समाचार पढेको प्रसङ्ग पनि सुनाउँदै यादवले भने, ‘मैले हिजो कि अस्ति पेपरमा पढेँ कि राष्ट्रपतिले गणतन्त्र दिवसमा अध्यक्षता गर्ने ।
ठीक छ, राष्ट्रपतिले अध्यक्षता गर्न हुन्छ,’ उनले भने, ‘तर, संसदीय प्रणालीमा प्रधानमन्त्री नै कार्यकारी पद हो । प्रधानमन्त्रीले संसद्मा आउनुपर्छ, संसद्लाई सम्बोधन गर्नुपर्छ ।’
प्रधानमन्त्री बालेनको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेका उनको भनाइ थियो । ‘उहाँको दृष्टिकोण सुन्नका लागि आज सम्पूर्ण जनता आतुर छन्,’ यादवले भने, ‘उहाँको मुखबाट सुन्नुपर्ने हो । उहाँले आजसम्म देशलाई सम्बोधन गर्नुभएको छैन ।’
प्रथम राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त मुलुकले प्राप्त गरेका उपलब्धिका बारेमा प्रधानमन्त्रीको धारणा आफूले सुन्न चाहेको आशय पनि व्यक्ति गरे ।