आइतवार, श्रावण २४ गते २०८३

एकताले राष्ट्रिय भावना बलियो बनाउँछ : राष्ट्रपति

बिहिवार , जेठ १४, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हरेक चाडपर्वले नेपालीबीच प्रेम, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउने बताएका छन् ।

बकर इदका अवसरमा शुभकामना दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्वहरूले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

राष्ट्रपतिले बकर इदले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ मजबुत बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुग्ने उल्लेख गरे । उनले मुस्लिम समुदायलाई आपसी रिस, राग र द्वेष बिर्सेर विश्वास, समर्पण र समाजसेवाको भावनासहित अघि बढ्न आग्रह गरे ।

उनका अनुसार यस्ता चाडपर्वले विश्वका विभिन्न स्थानमा रहेका नेपालीबीच धार्मिक तथा सांस्कृतिक विविधताका बाबजुद पनि सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता र सहअस्तित्व कायम गर्न सहयोग पुर्‍याउँछन् । साथै, मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासमा समेत टेवा पुग्ने उनले बताए ।

“विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ,” राष्ट्रपतिले भने, “यस्ता पर्वले आपसी भाइचारा र समानताको सन्देश फैलाउन मद्दत गर्छन् ।”

यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादव ले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने बकर इदले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापलाई थप सबल बनाउने बताएका छन् ।

बकर इदका अवसरमा शुभकामना दिँदै उनले यो पर्वले सबैलाई मिलेर बस्न प्रेरित गर्ने उल्लेख गरे । उपराष्ट्रपतिले बकर इदले विपन्न तथा सहयोग आवश्यक पर्ने व्यक्तिलाई सहयोग गर्ने संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावना सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“धार्मिक महत्वसँगै सामाजिक र सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्छ,” उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार