बुधवार, आश्विन १४ गते २०८३

नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी अभिमुखीकरण सम्पन्न

बिहिवार , जेठ १४, २०८३

काभ्रे। विश्व दूध दिवस २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सञ्चालन भइरहेको साताव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन काभ्रेपलाञ्चोकको नालामा “स्वच्छ दूध उत्पादन” सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ।

नेपालमा पहिलो डेरी स्थापना भएको ऐतिहासिक स्थल नालामा आयोजित कार्यक्रममा बनेपा नगरपालिका वडा नं। ३ का वडाध्यक्ष रमेश दाहालको सभापतित्व रहेको थियो भने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट स्वच्छ दूध उत्पादन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो। साथै कर्मा ग्रुपका प्रतिनिधि डा। योगेन्द्र राणाले डेरी क्षेत्रमा प्रयोग हुने “डेरी कमाण्डर” नामक झिँगा तथा किरा–फट्याङ्ग्रा नियन्त्रण गर्ने औषधिको प्रयोग र त्यसले दूध उत्पादनमा पार्ने प्रभावबारे प्रस्तुति दिएका थिए।

कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य नवराज तिमल्सिनाले नाला क्षेत्रको दूधले काठमाडौं बजारमा ठूलो हिस्सा ओगटेको बताए। वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमलाले दुग्ध क्षेत्र सम्मानित पेशा भएको उल्लेख गर्दै यसले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा राखे।

त्यस्तै, बनेपा नगरपालिका पशु सेवा शाखा प्रमुख चिरञ्जीवी शर्माले नेपाल डेरी एसोसिएसनले सञ्चालन गरेको यस्ता कार्यक्रमले किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

नेपाल डेरी एसोसिएसनका संस्थापक सदस्य तथा राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य राजन प्रसाद दाहालले नाला क्षेत्रले नेपालको डेरी इतिहास बोकेको स्मरण गराउँदै २००९ सालमा यहाँ पहिलो डेरी स्थापना भएको इतिहास उल्लेख गरे। उनले ऐतिहासिक स्थल तथा भग्नावशेष संरक्षणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रमुख अतिथि तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्रले उत्पादन, उपभोग तथा ग्रामीण रोजगारीमा पुर्‍याएको योगदान उल्लेख गर्दै स्वच्छ दूध उत्पादनमा विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले देशभर अनिवार्य रूपमा दिनमा दुई पटक दूध सङ्कलन व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याए।

कार्यक्रमका सभापति तथा वडाध्यक्ष रमेश दाहालले विश्व दूध दिवस जुन १ मा विश्वभर मनाइने गरिएको जानकारी दिँदै यसको उद्देश्य दूध तथा दुग्ध पदार्थको महत्वबारे जनचेतना फैलाउनु र उपभोग वृद्धि गर्नु रहेको बताए।

नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष तथा बोर्ड सदस्य रामभक्त दाहालले साताव्यापी रूपमा सञ्चालन भइरहेको विश्व दूध दिवस कार्यक्रमले दुग्ध क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य तथा नेपाल डेरी एसोसिएसनका संस्थापक सदस्य राजन प्रसाद दाहाल, बोर्ड सदस्य रामभक्त दाहाल, बनेपा नगरपालिका पशु सेवा शाखा प्रमुख चिरञ्जीवी शर्मा, नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला, केन्द्रीय सदस्य नवराज तिमल्सिना, नुवाकोट अध्यक्ष दीपक ढुङ्गाना, राष्ट्रिय दुग्ध विकास बोर्डकी प्रशिक्षक नमुना खतिवडा, कर्मा ग्रुपका प्रतिनिधि डा. योगेन्द्र राणा, वडा सदस्य, दुग्ध सङ्कलक तथा स्थानीय दुग्ध उत्पादक किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार