आइतवार, श्रावण २४ गते २०८३

एसियन गेम्स छनोट –इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

बिहिवार , जेठ १४, २०८३

काठमाडौं । मलेसियामा जारी एसियन गेम्स छनोटमा लागातार दोस्रो जित निकाल्दै नेपाली महिला क्रिकेट टिम सेमिफाइनल प्रवेश गरेको छ । 

महिला क्रिकेटको दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको हो । जितका लागि इन्डोनेसियाले दिएको एक सय १४ रनको लक्ष्य नेपालले १९ ओभर तीन बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन बनाउनुभयो । ४३ बलको सामना गर्दै उहाँले पाँच चौकाको मद्दतमा नटआउट ४२ रन बनाइन् । 

 सोनी पार्खिनले २९ रन बनाएको खेलमा कविता कुँवरले १४ रन जोडिन् । अन्तिम समयमा आएर आएर मात्र ६ बलको सामना गर्दै सीता रानामगरले नटआउट १३ रन बनाइन् ।

नेपालविरुद्ध कसिलो बलिङ गरेको इन्डोनेसियाका लागि सुवान्देवी र काइदे अरियानीले दुई, दुई विकेट हात पार्दा लक्ष्मी परमिथा र न्योमन मेप्रियानीले एक, एक विकेट हात पारिन् ।  

मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो ।

इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन् । यस्तै निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिइन् । 

यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो ।  एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूहको विजेता बन्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार