काठमाडौँ । सुन्दा अचम्म लागछ, सरकारको तीन निर्णय, दुइ पटकसम्म शिलान्यास । तर पनि निर्माण कार्य भने शून्य । गणतन्त्रको ऐतिहासिक स्मरणका लागि कीर्तिपुरमा शिलान्यास गरिएको गणतन्त्र स्तम्भ अहिले यही हालतमा छ ।
भन्न त रज्यलेयसलाई राष्ट्रिय गौरवको योजना पनि भनेको छ । तर अहिले निर्माण कार्य ठप्प छ । अर्थात सुरु नै भएको छैन भने पनि हुन्छ । कारण देखाइएको छ, बजेट अभाव । मुलुकले १८ औँ गणतन्त्र दिवस मनाइरहँदा मन्त्रीपरिषद्को तीन तीन पटकको निर्णय र दुई जना प्रधानमन्त्रीले दुई पटक शिलान्यास गर्नुभएको गणतन्त्र स्तम्भ निर्माण कार्य योजना कागजमै सीमित छ ।
यसको निर्माण कहिलेदेखि सुरु हुन्छ भन्नेबारे सो स्तम्भ निर्माणको जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागका अधिकारी पनि भन्न सक्ने अवस्थामा छैनन् ।
पहिलो पटक २०६६ जेठ १५ गतेको मन्त्रीपरिषद्को बैठकले गणतन्त्र स्तम्भ स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजधानीको रत्नपार्कमा सो स्तम्भको शिलान्यास गरेका थिए ।
त्यसपछि २०६७ असार २ गतेको मन्त्रीपरिषद्को निर्णयले रत्नपार्कमा सो स्तम्भ निर्माण गर्न साँघुरो हुन्छ भनी ललितपुरको गुँसीगालस्थित युएनपार्कमा बनाउने भनिएको थियो ।
विभिन्न कारण देखाउँदै ललितपुरमा पनि निर्माण नभएपछि तत्कालीन सरकारले २०६९ वैशाख ७ गते कीर्तिपुरको गाम्खेलमा बनाउने निर्णय गरेको थियो ।
निर्णयबमोजिम तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ वैशाख १४ गते कीर्तिपुरको गाम्खेलमा स्तम्भको शिलान्यास गरेका थिए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहराले गणतन्त्र स्तम्भको निर्माण कार्य सरकार र राजनीतिक नेतृत्वको प्राथमिकताका क्रममा तल पर्दै गएका कारण निर्माण अन्योलपूर्ण बन्दै गएको बताए ।
उनका अनुसार सो गणतन्त्र स्तम्भ निर्माण चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समेटिएको छैन र आगामी आर्थिक वर्ष (२०८३÷८४) को नीति तथा कार्यक्रम र बजेटमा समेत पर्न सकेको छैन ।