काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको दायित्व भएको बताए ।
घर, समाज, कार्यस्थल र निर्णय प्रकृयामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता रहेको पनि उनले बताए।
‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ शनिबार मनाईदैंछ । विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै बर्सेनी जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको छ ।
महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास छ ।