काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको बताए ।
प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको पनि बताए । महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकामा उनको जोड रहेको छ ।
यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस “महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान” नाराका साथ मनाइँदैछ ।
विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै बर्सेनी जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको छ ।