काठमाडौ । झापाको दमक नगरपालिका १० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव दमक नगरपालिका ८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलामा फेला परेको थियो ।
रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताए ।