काठमाडौं । भूमिबारे प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टीले यस्तो माग संसद्मै राख्ने भएका हुन् । विपक्षी दलहरूको बैठक सिंहदरवारमा जारी छ ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राईलगायतका नेताहरू सहभागी छन् ।
एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निश्कल राईसहितका अन्य नेताहरू समेत उपस्थित छन् ।