आइतवार, श्रावण २४ गते २०८३

कांग्रेसमा झन्डै ३ लाखले गरे क्रियाशील सदस्यता अद्यावधिक

बुधवार , जेठ २०, २०८३


काठमाडौँ । नेपाली काङ्ग्रेसका झन्डै ३ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

‘जरा अभियान’अन्तर्गत गत वैशाख १ गते सुरु भएको सदस्यता अद्यावधिक सुरु गरेको थियो । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, उक्त अभियानमा झन्डै ३ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी रहेकै बेला कांग्रेसले नयाँ क्रियाशील सदस्यताको फारम खुला गरेको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न थप गरिएको समय सकिन दुई दिन मात्र बाँकी रहँदा कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको हो ।

“यही प्रकृतिको म्याद बढाउँदैनौँ होला,” दुलालले बाह्रखरीसित भने, “केही मापदण्ड राखेर अद्यावधिक गर्न नसक्नेका लागि केही घण्टा, दिन थप्न सकिएला, तर म्याद थप्ने कुरामा हामीले सोचेका छैनौँ ।”

कांग्रेसको क्रियाशील सदस्यता पाइनँ भन्ने अवस्था नहुने गरी नयाँ सदस्यता निम्ति आवेदन खुला गरेको उनको भनाइ छ । नयाँ क्रियाशील सदस्यले पनि १५ औँ महाधिवेशनमा भाग लिन पाउने दुलालले बताए ।

“हामीले डेडलाइन तोकेर बन्द गरिसकेपछि सदस्यता फारम भर्नेले पाउँदैनन्,” उनले भने, “यतिखेर भर्नेले १५ औँ महाधिवेशनमा भाग लिन पाउँछन् ।”

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबारको बैठकले क्रियाशील सदस्यता आवेदन फारम खुला गरेको हो ।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गरी ५ लाख पुर्‍याउने लक्ष्य राखेको थियो । तर समितिका संयोजक तथा पार्टी महामन्त्री प्रदीप पौडेल त्यो संख्या पुग्ने स्थिति नदेखिएको बताउँछन् । चौधौं महाधिवेशन भाग लिने क्रियाशील सदस्य ८ लाख ७२ हजारभन्दा बढी थिए ।

उनले भने, “हाम्रो लक्ष्य त ५ लाख पुर्‍याउने हो । तर कतिको निधन भइसकेको छ त कतिले पार्टी छाडिसक्नुभएको देखिन्छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार