काठमाडौं । महानगर यातायात प्रा.लिले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । बुधवारदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सन्चालनमा आएको हो ।
३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको छ । उक्त बसहरुमा एकै पटक ७० हाराहारी यात्रीले यात्रा गर्न सक्ने बताइएको छ ।
शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने बताइएको छ ।
उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्री सुरक्षाका हरेक प्रबन्ध मिलाइएको शशिला मोटर्स प्रा.लि.ले जनाएको छ ।
महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र सञ्चालन गरेको थियो ।