काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३\८४ को बजेटप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ ।
महासंघले बजेटलाई समग्रमा स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन तथा निजी क्षेत्रको मनोबल अभिबृद्धिमा सकारात्मक योगदान पुयाउने विश्वास व्यक्त गरेको छ ।
यद्यपि, लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका विषयमा बजेटले पर्याप्त ध्यान दिन नसकेको महासंघको गुनासो छ । उद्योग तथा व्यवसायमैत्री कर नीति, उद्यमशीलता विकास कार्यक्रम, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, उत्पादन तथा रोजगारी बृद्धि, ऊर्जा र पूर्वाधार विकासलाई सकारात्मक पक्षका रूपमा लिइएको महासंघले जनाएको छ ।
बजेटमा घोषणा गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, सहज वित्तीय पहुँच, घरेलु उत्पादनको संरक्षण तथा प्रवद्र्धन, युवा तथा महिला उद्यमीलाई विशेष सहुलियत, सीप विकास र बजार व्यवस्थापनका कार्यक्रमलाई व्यवहारमा लागू गर्न सरकारसँग आग्रह गरेको महासंघका अध्यक्ष उमेस प्रसाद सिँहले जानकारी दिए ।
निर्माण सामग्री, ऊर्जा तथा ढुवानी लागतमा भएको बृद्धिका कारण साना उद्योग व्यवसायीले भोगिरहेका समस्यालाई सम्बोधन गर्न थप नीतिगत तथा कार्यक्रमगत पहल आवश्यक रहेको महासंघको धारणा छ । साथै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने स्पष्ट कार्ययोजना कार्यान्वयनमा ल्याउन पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।
महासंघले सरकारसँग सहकार्य गर्दै आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।