आइतवार, श्रावण २४ गते २०८३

आठ विश्वविद्यालयका उपकुलपतिको लागि ७७ जना परे छोटोसूचिमा

शुक्रवार , जेठ २२, २०८३


 काठमाडौं । विभिन्न आठ वटा विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएकाहरुबाट शिक्षा तथा खेलकुद मन्त्रालयले ७७ जनाको नाम अल्पसूचि (सर्ट लिष्टिङ) सार्वजनिक गरेको छ । 

मन्त्रालयले गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिको निर्णय अनुसार शुक्रबार मन्त्रालयले ति उम्मेदवारको अल्पसूचि सार्वजनिक गरेको हो ।  

मन्त्रालयका अनुसार सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय,पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय,कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकाहरुमध्येबाट छनोट गरेर दश दश जनाको नाम अल्पसूचिमा राखिएको छ । 

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आवेदन दिएकाहरुमध्येबाट भने सात जनाको नाम मात्रै अल्पसूचिमा समावेश गरिएको छ । ति विश्वविद्यालयमा उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने उद्देश्यले मन्त्रालयले छनोट तथा सिफारिस समिति गठन गरेर आवेदन आह्वान गरेको थियो । 

जस अनुसार आठ वटा विश्वविद्यालयका उकुलपतिको लागि सुरुमा दुई सय अठार जनाले आवेदन दिएका थिए । समितिले आवेदन दिएकामध्ये एक सय ८८ जनाको मात्रै आवेदन स्वीकृत गरेको थियो । 


मन्त्रालयका अनुसार ती आवेदन आवश्यक कागजपत्र अपुग भएको तथा आवश्यक अन्य योग्यता नपुगेका कारण अस्वीकृत भएका हुन् । स्वीकृत आवेदकबाट शुक्रबार अल्पसूचि प्रकाशन गरिएको हो ।

 
समितिले आवेदन आह्वान गरे अनुसार सुरुमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सबैभन्दा धेरै अर्थात ५० जनाले आवेदन दिएका थिए । पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

स्वीकृत भएका आवेदकहरुमध्ये त्रिविको लागि ४३ जना, पूर्वाञ्चलका लागि ३४ जना,पोखराको लागि ३३ जना, राजर्षिजनकको लागि सुदूरपश्चिमको लागि १८ जना, मध्यपश्चिमको लागि १९ जना, कृषि तथा वन विज्ञानको लागि १३ जना र लुम्बिनी बौद्ध विश्वविद्यालयको लागि ७ जना थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार