काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम काठमाडौं महानगरपालिकासँगको संयुक्त अनुगमनका क्रममा काठमाडौं उपत्यकाभित्र मोबाइल भ्यान प्रयोग गरी खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण हुने स्थानहरूको निरीक्षण गरेको छ ।
शुक्रबार भएको अनुगमनका क्रममा विभिन्न होटल, क्यान्टिन तथा खाद्य व्यवसायमा सरसफाइ, भण्डारण, खाद्य सुरक्षा र गुणस्तरसँग सम्बन्धित कमजोरी फेला परेपछि सम्बन्धित व्यवसायलाई सुधारका लागि निर्देशन दिइएको छ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको गोविन्द क्यान्टिन (दरबार हाईस्कुल क्यान्टिनं) मा गरिएको निरीक्षणका क्रममा व्यक्तिगत सरसफाइ सन्तोषजनक नपाइएको, सरसफाइ तथा पेष्ट कन्ट्रोल व्यवस्थापन कमजोर रहेको तथा खाद्यवस्तु खुला रूपमा भण्डारण गरिएको पाइएको छ।
अनुगमन टोलीले खाद्य पदार्थ पकाइसकेपछि उचित तापक्रममा भण्डारण गर्न, खाद्य स्वच्छता कायम राख्न, पेष्ट कन्ट्रोल तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, खाद्य पदार्थ र रसायन छुट्टाछुट्टै राख्न तथा पकाइएका खाद्यवस्तु छोपेर सुरक्षित रूपमा भण्डारण गर्न निर्देशन दिएको छ।
यस्तै काठमाडौं महानगरपालिका–३२ स्थित श्री सर्वेश्वर आधारभूत विद्यालय मा दिवा खाजा सञ्चालनका लागि उपयुक्त भान्साकोठा नभएको तथा खाजा वितरणसमेत विद्यालयको बाहिरी प्राङ्गणमा गरिने गरेको पाइएको छ।
विद्यालयलाई भान्साकोठा व्यवस्थित बनाउन, खाद्य सामग्री खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति र अनुमति पत्र जाँच गर्न, खाद्य पदार्थ र रसायन अलग(अलग राख्न तथा खाना तयारीमा संलग्न व्यक्तिको व्यक्तिगत सरसफाइ र एएभ् ९व्यक्तिगत सुरक्षा सामग्री० को व्यवस्था गर्न निर्देशन दिइएको छ।
कोटेश्वरस्थित गोमा खाजा घरमा अनुमति बिना उत्पादित खाद्यवस्तु फेला
काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित गोमा खाजा घर मा सरसफाइ तथा पेष्ट कन्ट्रोलको अवस्था सन्तोषजनक नपाइएको, झ्याल–ढोकामा जाली नभएको, अनुमति नलिएका उद्योगबाट उत्पादित खाद्यवस्तु तथा लेबलविहीन प्रशोधित खाद्य पदार्थ प्रयोग गरिएको पाइएको छ।
त्यसैगरी, कृत्रिम खाद्य रङको प्रयोग तथा मसीयुक्त कागज प्रयोग गरिएको समेत अनुगमनमा भेटिएको छ। अनुगमन टोलीले खाद्य स्वच्छता कायम गर्न, झ्याल–ढोकामा जाली जडान गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादित खाद्य पदार्थ मात्र प्रयोग गर्न तथा मसीयुक्त कागजको प्रयोग नगर्न निर्देशन दिएको छ। साथै, पकाइने तथा तारेका खाद्य पदार्थमा कृत्रिम रङ प्रयोग नगर्न समेत सचेत गराइएको छ।
खाद्य स्वच्छता कायम गर्न विभागको आग्रह
विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै खाद्य व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित भण्डारणसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ। अनुगमन तथा नियमनका यस्ता गतिविधि आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।