सोमवार, श्रावण २५ गते २०८३

आर्थिक संकट व्यहोर्दै हेटौंडा सिमेन्ट उद्योग

मंगलवार , जेठ २६, २०८३


मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा आर्थिक संकटको सामना गर्नु परिरहेको छ । दीर्घकालीन रूपमा आर्थिक स्रोतको व्यवस्थापन नहुँदा समय सिमाभित्र कोइला खरिद गर्न तथा कर्मचारीलाई एक वर्षदेखि मासिक तलबभत्ता उपलब्ध गराउन समस्या भइरहेको हो ।

यसअघि उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टको बोरा काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवनको नारायणगढ, पोखरा, धनगढी र विराटनगरमा बिक्री वितरण हुने गरेकामा हाल शून्य अवस्थामा पुगेकाले पनि आर्थिक सङ्कट उत्पन्न भएको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले बताए ।

उनले काठमाडौँ, हेटौँडालगायत अन्य सहरमा थप सिमेन्ट बिक्री गर्न सम्बन्धित डिलर, स्थानीय उपभोक्ता, विकास आयोजना प्रमुखसँग प्रत्यक्ष संवाद गरिरहेको जानकारी दिए । प्रत्येक बोरा सिमेन्टमा केही प्रतिशत मूल्य घटाइने पनि उनले उल्लेख गरे ।


अहिले करिब ७०–७५ हजार बोरा सिमेन्ट प्याकिङ गरिएको उद्योगका प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार यहाँबाट उत्पादित प्रत्येक बोरा सिमेन्टको बजार मूल्य ७२४ रुपैयाँ पर्ने उनले बताए ।

हेटौँडा, काठमाडौँ, वीरगञ्ज, पोखरालगायत प्रमुख सहरमा निजी क्षेत्रबाट उत्पादित सिमेन्टभन्दा यहाँबाट उत्पादित सिमेन्ट प्रतिबोरा ७० रुपैयाँ भन्दा बढी पर्ने गरेको नेपाल पत्रकार महासङ्घ मकवानपुर पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले अनुभव सुनाए । मूल्य बढी पर्ने भएकाले सिमेन्ट बिक्रीमा कमी आएको हुनसक्ने हेटौँडा उपमहापालिका–११ निवासी उपभोक्ता सीताराम बर्तौलाले बताए ।

उद्योगका सबै कर्मचारीलाई प्रत्येक महिना सञ्चय कोष कट्टीसहित ९५ लाख ७० हजार रुपैयाँ रकम तलबभत्ताबापत वितरण गर्नुपर्ने जनाउँदै सहायक प्रबन्धक श्रेष्ठले रकम अभावले नियमित तलब दिन नसकिएको धारणा राखे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार