काठमाडौँ । विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गर्दै सरकारले हरेक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको भएपनि अपेक्षित उपलब्धि हासिल हुने सकेको छैन । सरकारी तथ्याङ्कले नै यसको पुष्टि गरेको छ ।
सरकारी तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना भएकामध्ये १६ प्रतिशत विद्यार्थी सोही कक्षामा रोकिने गरेका छन् । त्यसबाहेकचार प्रतिशतले बिचैमा पढाई छोड्ने गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा १ मा भर्ना भएका एक सय जना विद्यार्थीमध्ये अहिले पनि कक्षा २ मा पुग्दा ८० जना मात्रै बाँकी रहने गरेका छन् । जसमध्ये औसतमा १६ जनाले कक्षा दोहो¥याउँछन् भने चार जनाले पढाइ छाड्ने गरेका छन् ।
सरकारी नीति अनुसार अहिले पनि कक्षा १ देखि ३ सम्म शतप्रतिशत निरन्तर मूल्याङ्कन प्रणाली लागु भइरहेको छ । सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन् । तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्याङ्कन प्रणालीमाथि प्रश्न उठेको छ ।
तथ्याङ्क अनुसार कक्षा दोहो¥याउनेमा छात्रभन्दा छात्रा केही धेरै छन् । पढाइ छाड्नेमा भने छात्राभन्दा छात्र केही बढी देखिन्छन् । विद्यालय तहमा कक्षा दोहो¥याउने दर कक्षा १ पछि कक्षा ८ मा धेरै छन् । यो कक्षामा १२.६ प्रतिशत विद्यार्थीले कक्षा दोहो¥याउँछन् ।
कक्षा २ मा ८.७ प्रतिशत, कक्षा ३ मा ७.५ प्रतिशत, कक्षा ४ मा ८.८ प्रतिशत र कक्षा ५ मा ८.५ प्रतिशतले कक्षा दोहो¥याउने गरेका छन् । त्यस्तै कक्षा ६ मा ८ प्रतिशत, कक्षा ७ मा ७.८ प्रतिशत, कक्षा ९ मा ७.४ प्रतिशत र कक्षा १० मा २.७ प्रतिशत विद्यार्थीले कक्षा दोहो¥याउने गरेका छन् ।
कक्षा दोहो¥याउने र छाड्ने दर नघट्दा १० वर्षअघि कक्षा १ मा भर्ना भएका आठ लाख ७९ हजार ४६९ जना विद्यार्थी भर्ना भएका विद्यार्थी गत वर्ष कक्षा १० मा आइपुग्दा चार लाख ५७ हजार ३०३ मात्रै आइपुगेका थिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढी कक्षा १ मा भर्ना भएका कारण दोहो¥याउने दर उच्च रहेको बताउनुहुन्छ । अहिले चार वर्ष पूरा भएका बालबालिकालाई न्यूनतम एक वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ ।
तर निजी विद्यालयमा त तीन वर्ष पूरा नहुँदै पनि विद्यार्थी भर्ना गर्ने चलन छ । कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ७७.५१ प्रतिशतले मात्रै इसिडी (अर्ली चाइल्ड डेभलपमेन्ट) को अनुभव लिएर आउने गरेका छन् । इसिडी अनुभव नभई कक्षा १ मा भर्ना हुँदा विद्यार्थीको सिकाइ क्षमता कमजोर हुने र यसैको असरका कारण कक्षा १ मै दोहोरिनु परेको महानिर्देशक न्यौपानेको भनाइ छ ।
इसिडी अनुभवै नलिई कक्षा १ मा भर्ना हुने विद्यार्थी सबैभन्दा धेरै मधेश प्रदेशमा ३२ प्रतिशत छ । सबैभन्दा कम गण्डकी प्रदेशमा १४ प्रतिशत रहेको छ । सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा यसै वर्षदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने उल्लेख छ । यसको विकल्पमा विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नपर्ने गरी आन्तरिक मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने सरकारको तयारी छ ।
सरकारले शिक्षामा हरेक वर्ष अर्बौ रुपैंया बजेट छुट्टयाउने गरेको छ । चालु आर्थिक वर्षको लागि एक अर्ब ११ अर्ब रुपैया बजेट शिक्षामा छुट्टयाइएको छ । आगामी आर्थिक वर्ष २०८३।०८४ को लागि भने एक खर्ब १७ अर्ब रुपैंया बजेट शिक्षामा छुट्टयाइएको छ ।