सोमवार, श्रावण २५ गते २०८३

वसन्त ऋतुमा हिमाल आरोहणबाट एक अर्ब २६ करोड राजस्व संकलन

बुधवार , जेठ २७, २०८३


काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्ने काम सकिएको छ ।

सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यसवर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई भने नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० ले अनुमति दिँदै आएको छ ।


नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्याण्डका ३२, फ्रान्सका २७ रहेका छन् । विभिन्न देशबाट नेपालका हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमले यो वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३१ हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएको जानकारी दिए। जसमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथामा मात्र आरोहणका लागि ४९५ आरोहीले अनुमति लिएका थिए ।

सगरमाथा आरोहणको अनुमति लिनेमा ५६ देशका आरोही रहेका छन् । जसमा ३९० पुरुष र १०५ महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा गाइड गरी झण्डै एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

यसवर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चिनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्टेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्याण्डका ११ आरोही पुगेका छन् ।

यसवर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरे । सोलुखुम्बूका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेका हुन् । महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पा ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरिन् । उनले आफ्नो रेकर्ड आफैँ तोडिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार