आइतवार, श्रावण २४ गते २०८३

भन्सारदर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्रीले के दिए जवाफ ?

बुधवार , जेठ २७, २०८३


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भएका त्रुटि सच्याउने विषयलाई नियतका आधारमा हेर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बुधबार बिहान बोल्दै उनले आर्थिक विधेयकमाथि संसदमा घनिभूत छलफल हुने अपेक्षा गरिएको भए पनि विषयलाई लिएर कुप्रचार गरिएको बताए।

उनले आर्थिक विधेयक जेठ १५ गते संसदमा टेबल गरिएको र त्यसपछि भाषागत त्रुटि तथा केही सामान्य हेरफेर आवश्यक देखिएको बताए। ती त्रुटि फेला परेपछि कर्मचारीहरूको आग्रह, विगतको अभ्यास र प्रचलित प्रक्रियाअनुसार सच्याएर संसदका महासचिवलाई जानकारी गराइएको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले अन्तिम रूपमा स्वीकृत प्रतिमै आवश्यक सुधार गरिएको उल्लेख गर्दै मूल कुरा नियतको हुने बताए। उनका अनुसार सच्याइएको विवरण जेठ १७ गते नै पठाइएको थियो।

उनले यस विषयमा विभिन्न जानकारी बाहिर आए पनि वास्तविकता फरक रहेको बताए। एक पाना मात्र पठाइएको भन्ने जानकारी सार्वजनिक भएको उल्लेख गर्दै त्यसमा भएका संशोधनहरू अर्थमन्त्रीको पहलमा गरिएको बताए।

अन्तिम निर्णयकर्ता अर्थमन्त्री नै हुने उल्लेख गर्दै उनले आवश्यक परे कुनै पनि बेला संशोधन गर्न सकिने अधिकार रहेको बताए।

सामान्य रूपमा पनि यस्ता संशोधन हुने गरेको भन्दै उनले यस वर्ष तीन–चार वटा विषय मात्र सच्याइएको तर गत वर्ष ७३ वटा विषय सच्याइएको उदाहरण प्रस्तुत गरे।

विद्युतीय सवारीसाधनको करसम्बन्धी व्यवस्थाबारे पनि उनले स्पष्टीकरण दिएका छन्। पहिले ३० प्रतिशत भन्सार लाग्ने वर्गमा रहेको रगत तथा भ्याक्सिन बोक्ने सवारीसाधनलाई पनि सोही वर्गीकरणमा राखिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार