काठमाडौं। नेपालमा नाबालक बालिकादेखी वृद्धसम्म बलात्कार जस्तो जघन्य अपराधमा पर्ने गरेका छन्। त्यतिमात्रै होइन बलत्कारीले पहिचान खुल्ने डरले बलत्कारपछि हत्या समेत गर्ने गरेका छन्। तर यहीँ यस्तो जघन्य अपराधलाई मोहोरा बनाएर पैसा असुल्न खोज्ने ३ जना महिला पक्राउ परेका छन्।
यो घटना दाङको हो। दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन्। प्रहरीले घोराही उपमहानगरपालिका-१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ।
गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए। गत असार ६ गते दाङको घोराहीमा भद्रबहादुर जैसी (परिवर्तित नाम) लाई सीतादेवी थापाले फोन गरेर आफ्नो घरायसी विषयको मुद्दा रहेको र कानुनको बारेमा जानेको मान्छे भनेर सल्लाह गर्न बोलाएकी थिइन्।
त्यसपछि जैसीले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेट्छन्।
रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि जैसीले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद भएको प्रहरीले बताएको छ।
प्रहरी प्रवक्ता रिजालका अनुसार असार ७ गते खुमा वलीले फोन गरी ‘सीतादेवीका ठूलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछिन् के गर्ने, हामी मिलाउँछौं, प्रहरी कार्यालयमा यो कुरा पुग्न दिँदैनौं केही पैसा तपाईंले दिनुपर्छ आउनुस् छलफल गरौं’ भनेर जैसीलाई बोलाउँछन्।
त्यसपछि उनीहरुले सागर एण्ड सुनील रेष्टुरेन्ट तथा लजमा भेट गर्छन्। ‘त्यस क्रममा उनीहरुले यो कुरा छिटो मिलाउनुपर्यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनेर धम्की दिई ५० लाख रुपैयाँ मागेको पिडित पुरुषको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छछ। त्यति रकम छैन भन्दा मुद्दा नहाली छाड्दै छाड्दैनौं भनेर १ लाख रुपैयाँ र १७ लाख रुपैयाँको चेक लिएको भनी पीडित जैसीले प्रहरीमा उजुरी दिए। पीडित पुरुषको नाम प्रहरीले गोप्य राखेको छ।
पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा नगद १ लाख ब्याजमा लगाइसकेको पाइएको र १७ लाख रुपैयाँको चेक फेला पारेको प्रहरी प्रवक्ता रिजालले बताए।