बिराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले विराटनगर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय मोरङ तथा विभागको घुम्ती प्रयोगशाला (मोबाइल भ्यान) सहितको संयुक्त अनुगमन टोलीमार्फत विराटनगर बजारका विभिन्न खाद्य व्यवसायमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ।
अनुगमनका क्रममा फलफूल तथा तरकारी बिक्री गर्ने व्यवसायमा विषादी परीक्षण गरिएको थियो। गौरीशंकर ट्रेडिङ, मोहम्मद अली एण्ड ब्रदर्स, खान ट्रेडर्स, गोविन्द फ्रुट सेन्टर, संगम फ्रुट, खान फलफूल तथा सागसब्जी सेन्टर र प्रियानी सागसब्जी पसलबाट संकलित विभिन्न नमुनाको स्थलगत परीक्षण गर्दा विषादी नभएको पाइएको कार्यालयले जनाएको छ।
संगम फ्रुटमा कोल्ड स्टोरको सरसफाइ पर्याप्त नभएको पाइएको थियो भने अन्य फलफूल तथा तरकारी व्यवसायमा रिपेनिङ एजेन्टको प्रयोग नभएको भेटिएको थियो।
अनुगमन टोलीले विभिन्न होटल तथा रेस्टुरेन्टमा सरसफाइ, खाद्य वस्तुको भण्डारण, तयारी तथा बिक्री वितरणको अवस्थासमेत निरीक्षण गरेको थियो। पुझा होटल, आँगन होटल, प्रसिद्ध फास्ट फुड, विराट खाजा घर, कोशी क्याफे एण्ड मम हाउस, मण्डल होटल, मदिना होटल, रिकुको चिया पसल तथा रामलाल गोल्छा आँखा अस्पताल क्यान्टिनमा सरसफाइ, खाद्य वस्तुको सुरक्षित भण्डारण, झ्याल–ढोकामा जालीको व्यवस्था, खाद्य वस्तु छोपेर राख्ने तथा खाद्य तयारी स्थल व्यवस्थित बनाउन निर्देशन दिइएको छ।
कोशी क्याफे एण्ड मम हाउसमा अखाद्य रंग र हाइड्रो प्रयोग भएको भेटिएपछि दुई थान अखाद्य रंग र एक थान हाइड्रो नष्ट गरिएको थियो। यस्तै, मण्डल होटलमा पनि एक थान हाइड्रो बरामद गरी नष्ट गरिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ।
मिठाई पसल तथा खाजा घरहरूको निरीक्षणका क्रममा गुरुदेव स्वीट, न्यू हलिम चिया नास्ता पसल, कृष्णा स्वीट्स हाउस र जगुल चिया नास्ता एण्ड पण्डित जी स्वीट कर्नरबाट मिठाईका नमुना संकलन गरी प्रयोगशाला परीक्षण गरिएको थियो। गुरुदेव स्वीट, कृष्णा स्वीट्स हाउस तथा पण्डित जी स्वीट कर्नरको नमुना परीक्षण प्रतिवेदन अनुकूल आएको थियो।
तर न्यू हलिम चिया नास्ता पसलको नमुनामा कैफियत देखिएपछि दुई केजी मिठाई नष्ट गरिएको कार्यालयले जनाएको छ। साथै, खाद्य वस्तु प्लास्टिक तथा अन्य अनुपयुक्त सामग्रीमा बिक्री नगर्न, प्रयोग भइसकेको तेल पुनः प्रयोग नगर्न र खाद्य स्वच्छताका मापदण्ड पालना गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार दुई दिनको अवधिमा विराटनगरका कुल २१ वटा खाद्य व्यवसायको अनुगमन गरिएको थियो। कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।