काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो। कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका विषयमा समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि चीन सरकारको सहयोग अपेक्षा गरेको बताइन्। उनले ताप्लेजुङ सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्याको समाधानका लागि पनि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको धारणा राखिन्।
भेटका क्रममा राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताए।
भेटवार्तालाई नेपाल–चीनबीच कृषि तथा वातावरणीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रयासका रूपमा हेरिएको छ।