काठमाडौं । नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिना बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न २०८१ कात्तिक ३० मा अनुमति पाएको थियो ।
नेपाल विद्युत् प्राधिकरणबाट त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न अनुमति छ ।
नेपाल–बंगलादेश सीमा नजोडिएका कारण भारतीय संरचना प्रयोग गरी बिजुली बिक्री गर्नुपर्छ । जसलाई भारतको अनुमति अनिवार्य हुन्छ । भारतीय स्वीकृतिअनुसार दुई आयोजनाको विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यातको अनुमति छ ।
नेपालले बंगलादेशलाई हरेक वर्ष वर्षायाम तथा त्यसपछिको उच्च उत्पादन अवधिमा विद्युत् निर्यात गर्दै आएको छ । यसवर्ष पनि जुन १५ देखि नोभेम्बर १५ सम्म करिब पाँच महिनाका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ ।
यद्यपि, बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने इच्छा व्यक्त गरे पनि आवश्यक भारतीय स्वीकृति नपाएकाले यो वर्ष अतिरिक्त विद्युत् निर्यात सम्भव नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को २०८२ मंसिर ११ मा बसेको सातौँ बैठकले हाल आयात भइरहेको ४० मेगावाटमा थप २० मेगावाट विद्युत् आवश्यक प्रक्रिया पूरा गरी आयात गर्ने उल्लेख गरेको थियो ।