काठमाडौं । निर्माण व्यवसायीप्रति वर्तमान सरकार निकै निर्मम देखिएको छ । तोकिएको समयमा ठेक्काको काम नसक्ने र जनतालाई सास्ती दिने क्रम नरोकिएपछि उनीहरुलाई तर्साउने नाममा प्रधानमन्त्रीदेखि पूर्वाधार मन्त्रीसम्मले चेतावनीपूर्ण भाषा प्रयो गर्न थालेका छन् ।
कानुन विपरितका यस्ता असिस्ट शब्द प्रयोग गर्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहदेखि पूर्वाधारमन्त्री सुनील लम्सालसम्मको आलोचना समेत हुन थालेको छ । आइतबारमात्रै उनले नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको ’खुट्टा भाँच्न’ निर्देशन दिए ।
मन्त्री जस्तो जिम्मेवार पदमा बसेर यस्तो निर्देशनपछि मन्त्री लम्सालको तीव्र आलोचना भइरहेको छ । मन्त्री लम्सालले यसअघि पनि निर्माण व्यवसायीमाथि विवादास्पद काम गरेका छन् । उनले नै निर्माण व्यवसायी रमेश शर्मा र पिताम्बर बडूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली लगाएर नियन्त्रणमा लिएका थिए ।
उनको निर्देशनमा कार्यालयको टोलीले दुई निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएर मन्त्रालयमा पठाएको थियो । त्यसो त प्रधानमन्त्री बालेन शाहले नै गत फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा ’काम नगर्ने ठेकेदारलाई रूखमा बाँध्ने, बाटोमा सुताउने, खोरमा जाक्ने’ बताएका थिए ।
’खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनुप¥यो, यो हो हाम्रो एजेन्डा । विपन्न गरिबले स्वास्थ्योपचार पाउनुप¥यो, यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन । त्यो डेढ वर्षमा बन्नुप¥यो त्यो हो हाम्रो एजेन्डा । रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ बाटो बन्नुप¥यो,’ बालेनले भनेका थिए ।