मुस्ताङ। जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ ।
घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रूपमा मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुगमन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले घरपझोङ–३ जोमसोमस्थित पुथाङ एयरपोर्ट बजार क्षेत्रमा अनुगमन गरेको थियो।
गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा पुथाङ एयरपोर्ट बजार क्षेत्रका २५ भन्दा बढी होटल तथा किराना र खाद्यान्न पसलमा आकस्मिक छड्के अनुगमन गरिएको गाउँ कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिए।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम तथा सबैभन्दा बढी पर्यटकको चहलपहल हुने मुख्य केन्द्र पुथाङ एयरपोर्ट क्षेत्रमा गाउँपालिकाले आकस्मिक छड्के अनुगमन गरेको हो। पर्यटकीय यामसमेत भएकाले मुस्ताङ आएका पर्यटक तथा सर्वसाधारण नागरिकको स्वास्थ्य सुरक्षाका लागि बजार अनुगमन गरिएको उपाध्यक्ष थकालीले बताए।
म्याद गुज्रिएका अखाद्य पदार्थ तथा वस्तुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले गाउँपालिकाको अगुवाइमा छड्के अनुगमन गरिएको उपाध्यक्ष थकालीको भनाइ छ।
घरपझोङ गाउँपालिकाले विसं २०८० सालदेखि गाउँपालिकाभित्रका व्यापारिक प्रतिष्ठानमा सिसाका बोतलमा ‘ब्रान्डिङ’ गरिएको मदिराजन्य बियर बिक्री–वितरणमा प्रतिबन्ध लगाइसकेको छ।
गाउँपालिकाको उक्त नियमलाई थप कडाइका साथ कार्यान्वयन गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो। सिसाजन्य बियरका बोतलले दुर्घटना र जोखिम निम्त्याउने तथा वातावरणीय स्वच्छतामा समेत प्रतिकूल असर पार्ने भएकाले गाउँपालिकाले बोतलमा ब्रान्डिङ गरिएका बियरको बिक्री–वितरणमा प्रतिबन्ध लगाउँदै आएको छ।
गाउँपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा डेढ दर्जन पर्यटक लक्षित होटल र आधा दर्जनभन्दा बढी किराना, फ्रेस हाउस तथा खाद्यान्न पसलको अनुगमन गरियो।
टोलीले व्यवसायीले होटल तथा पसलमा साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, लगबुक रजिस्टर राखेको वा नराखेको, खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिरासम्बन्धी मूल्य अभिवृद्धि कर प्रमाणपत्र तथा दर्ता–नवीकरणको अवस्थाबारे जानकारी लिएको थियो।