काठमाडौं। संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ खुलासा भएको छ। हत्यामा थप ४ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट घटनाको मुख्य योजनाकार काका खड्गबहादुर कार्की रहेको प्रहरीले खुलासा गरेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो। उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा उनिहरुको पनि संलग्नता पाइएको एसपी भीम दाहालले जानकारी दिए।
दाहालका अनुसार पक्राउ पर्नेमा लोकबहादुरका बुबा रणबहादुर कार्की, भाइ नरेश कार्की, काका खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर कार्की छन्। घटना हुनुअघिल्लो दिन राति ८ बजे खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरीले जनाएको छ।
२१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलको हत्या गर्ने योजना बनाएको पाइएको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना रहेको प्रहरीले भनेको छ। २१ भदौमा संखुवासभाको मादी नगरपालिका-१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो।
५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो। घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो।