आइतवार, श्रावण २४ गते २०८३

सरकारी अस्पतालका क्यान्टिनमा अनुगमन : खाद्य स्वच्छता सुधार गर्न निर्देशन, म्याद नाघेको चाउचाउ नष्ट

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र काठमाडौं महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले काठमाडौंका विभिन्न सरकारी अस्पताल तथा शैक्षिक संस्थाभित्र सञ्चालित क्यान्टिनहरूको अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको छ।

विभागले जारी गरेको विवरणअनुसार जेठ २९ गते र असार १ गते गरिएको अनुगमनमा क्यान्टिनहरूमा सरसफाइ, खाद्य भण्डारण, कीट नियन्त्रण , भौतिक संरचना तथा खाद्य सामग्रीको गुणस्तर सम्बन्धी विभिन्न कमजोरीहरू फेला परेका छन्।

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा सञ्चालित एम बी। चमेनागृहको अनुगमनका क्रममा केही पकाइएका खाद्यवस्तु खुला रूपमा राखिएको, कीट नियन्त्रण प्रभावकारी नभएको, फोहोर व्यवस्थापन कमजोर रहेको तथा खाना पकाउने र भाँडा सफा गर्ने स्थान एउटै क्षेत्रमा रहेको पाइएको विभागले जनाएको छ।

टोलीले नियमित सरसफाइ गर्न, कीट नियन्त्रणलाई थप प्रभावकारी बनाउन, उचित तापक्रममा खाना भण्डारण गर्न, पूर्ण लेबल भएका तथा अनुमति प्राप्त उद्योगबाट उत्पादित खाद्य सामग्री मात्र प्रयोग गर्न निर्देशन दिएको छ।

वीर अस्पतालभित्र सञ्चालित गुह्येश्वरी होटल प्रालिको क्यान्टिनमा भान्सा साँघुरो तथा खाना बनाउने स्थान अपर्याप्त रहेको पाइएको छ। साथै कीट नियन्त्रण र धुवाँ निकास  व्यवस्थापन प्रभावकारी नभएको अनुगमन टोलीले जनाएको छ।

यद्यपि प्रयोग गरिएको तेलको त्एः ख्बगिभ १२.५ रहेको र मापदण्डअनुकूल पाइएको विभागले उल्लेख गरेको छ। क्यान्टिनलाई भौतिक तथा संरचनागत सुधार गर्न र खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ।

प्रसूति गृह अस्पतालको क्यान्टिनमा कृत्रिम रंगको अव्यवस्थित प्रयोग

थापाथलीस्थित प्रसूति गृह अस्पतालमा सञ्चालित मनकामना रिसब क्यान्टिनमा कृत्रिम खाद्य रंगको अव्यवस्थित प्रयोग, जिर्ण भौतिक संरचना, कमजोर कीट नियन्त्रण तथा खुला रूपमा खाद्यवस्तु भण्डारण गरिएको पाइएको छ।

अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भइसकेका १ केजीका ६ प्याकेट चाउचाउ समेत फेला परेको थियो। विभागले ती सबै चाउचाउ नष्ट गरेको जनाएको छ।

टोलीले क्यान्टिनको भौतिक संरचना सुधार गर्न, सरसफाइमा विशेष ध्यान दिन तथा खाद्य सामग्री सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ।

सेन्ट जेभियर्स कलेज क्यान्टिनमा लेबलविहीन खाद्य सामग्री

काठमाडौं महानगरपालिका–११ स्थित सेन्ट जेभियर्स कलेज क्यान्टिन सञ्चालन गरिरहेको सिवासाँ फुड क्याटरिङ सर्भिसमा अनुमति नलिएका उद्योगबाट उत्पादित तथा पूर्ण लेबल विवरण नभएका प्रशोधित खाद्यवस्तु प्रयोग भएको पाइएको छ।

त्यहाँको कीट नियन्त्रण र सरसफाइको अवस्था सामान्य रहेको भए पनि विभागले अनुमति प्राप्त उद्योगबाट उत्पादित खाद्य सामग्री मात्र प्रयोग गर्न तथा खाद्य स्वच्छता मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

चार क्यान्टिन अनुगमन

विभागका अनुसार दुई दिनको अनुगमन अभियानमा त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल, प्रसूति गृह अस्पताल तथा सेन्ट जेभियर्स कलेजका गरी चार वटा क्यान्टिनको निरीक्षण गरिएको हो।

अनुगमनपछि विभागले खाद्य स्वच्छता कायम राख्न, कीट नियन्त्रण प्रभावकारी बनाउन, खाद्य सामग्री उचित तापक्रममा भण्डारण गर्न तथा अनुमति प्राप्त उद्योगबाट उत्पादित र पूर्ण लेबल भएका खाद्यवस्तु मात्र प्रयोग गर्न सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार