काठमाडौं । पूर्व परराष्ट्रमन्त्री आरजु रााणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन् ।
पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै आयोगले पत्र पठाएपछि देउवाले यस्तो जवाफ फर्काएकी हुन् ।
अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट बुधबार अख्तियारको इमेल आइडीमा मेल आएको हो ।
स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने व्यहोरा उल्लेख गरिएको छ । ‘
अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उपचारको कारण देखाएर तत्कालै उपस्थित हुन नसक्ने भन्दै आरजुको नामबाट इमेल आएको छ’ अख्तियार स्रोतले भन्यो ।
पासपोर्ट खरिद प्रकरणकमा अनुसन्धान अघि बढाएपछि अख्तियारले आरजुको बूढानीलकण्ठस्थित घरमा म्याद तामेल समेत गरेको थियो । जहाँ बाटोको म्याद बाहेक तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु, उनका पति तथा पूर्वप्रधानमन्त्री, कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर छन् । अख्तियार उच्च स्रोतबाट प्राप्त कागजात केलाउँदा, गतवर्षको पासपोर्ट खरिद प्रक्रियामा परराष्ट्रमन्त्री डा. आरजु देउवाको कुनै लिखित निर्देशन वा अन्य निर्णय देखिँदैन ।