कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि सात अर्ब १५ करोड २५ लाखको बजेट ल्याएको छ। महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट प्रस्तुत गरिन्।
चालु आर्थिक वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाखको बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो। नयाँ बजेट चालु वर्षको तुलनामा रु एक अर्ब १९ करोड ८७ लाखले कम रहेको छ।
उपप्रमुख गुरुङका अनुसार बजेटका प्रमुख स्रोतमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख र समानीकरण अनुदान रु ४९ करोड ३७ लाख रहेका छन्। त्यसैगरी, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान रु ६० लाख, विशेष अनुदान रु ४० लाख तथा समानीकरण अनुदान रु आठ करोड १५ लाख ३६ हजार प्राप्त हुने अनुमान गरिएको छ।
राजस्व बाँडफाँटबाट सङ्घीय सरकारबाट रु ३४ करोड ३४ लाख ७३ हजार, प्रदेश सरकारबाट रु चार करोड नौ लाख ८६ हजार, स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार तथा आन्तरिक स्रोतबाट रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार आम्दानी हुने अनुमान गरिएको छ। यससँगै कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रहने प्रक्षेपण गरिएको छ।
महानगरले वित्तीय स्थायित्व कायम गर्दै राजस्वको दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि बढाएर रोजगारी सिर्जना गर्ने तथा वातावरणमैत्री र दिगो सहरी विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ।
चालु खर्चलाई सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन गर्ने, निजी क्षेत्रको लगानी आकर्षित गर्ने, पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने तथा आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण गर्ने विषयलाई बजेटको प्राथमिकतामा राखिएको छ।
महानगरले फिर्केखोला कोरिडोर, पोखरा बसपार्कलगायत सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गाको व्यवस्थापनका लागि रु १० करोड विनियोजन गरेको छ।
पूर्वाधार तथा सहरी विकासअन्तर्गत ६१ वटा सडक आयोजना सम्पन्न गर्न रु ५५ करोड ५० लाख ६३ हजार छुट्याइएको छ। पोखरा सभागृह पुनर्निर्माणका लागि रु पाँच करोड, शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि रु एक करोड २० लाख तथा गण्डकी बहुप्राविधिक शिक्षालयका लागि रु दुई करोड ६० लाख विनियोजन गरिएको छ।
फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि रु १५ करोड र प्रभावित क्षेत्रका लागि थप रु पाँच करोड बजेट छुट्याइएको छ। निर्माणाधीन तालचोक–बेगनास सडकको बाँकी काम सम्पन्न गर्न रु १५ करोड २५ लाख विनियोजन गरिएको छ।
यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा पुनःस्थापनाका लागि रु तीन करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालनका लागि रु तीन करोड, कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न रु तीन करोड ६८ लाख तथा उद्यम विकास, रोजगार सिर्जना र नवप्रवर्तनका लागि रु एक करोड २५ लाख विनियोजन गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि रु ६० लाख र खेल पर्यटनका लागि रु ६६ लाख बजेट छुट्याइएको छ।
महानगरले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत मात्र खर्च भएको जनाएको छ। चालुतर्फ रु तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार र पुँजीगततर्फ रु चार अर्ब ८३ करोड ७९ लाख ११ हजार विनियोजन गरिएकामा चालुतर्फ रु दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार तथा पुँजीगततर्फ रु एक अर्ब १७ करोड आठ लाख ६० हजार मात्र खर्च भएको उपप्रमुख गुरुङले जानकारी दिइन्।