काठमाडौं । परीक्षा सकिएको महिना दिनमै कक्षा १२ को नतिजा सार्वजनिक भएको भनेर खुशीयाली मनाएको शिक्षा तथा खेलकुद मन्त्रालयल अनपेक्षित टिकाटिप्पणीको सामना गर्नुपरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । नतिजा गत वर्षको भन्दा ८ प्रतिशत वृद्धि भएको छ । परीक्षा गत वैशाख २७ गते सकिएको थियो ।
हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटी बढेको, नतिजामा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योग गर्दा लाग्नु शुल्क बढाएको लगायतका टिप्पणी सामाजिक सञ्जालबाट आएको थियो ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत यस विषयमा स्पष्ट पार्ने प्रयास गरेका छन् । उनले नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको दाबी गरेका छन् ।
विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् समपरीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउने व्यवस्था गरिएकोमा यस वर्ष भने समपरीक्षण सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौं ल्याउनुपर्ने बाध्यता हटाइएको पनि उनले बताएका छन् ।
उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको बताउँदै उनले कसैलाई हतारहतार परीक्षण गर्न नलगाइएको पनि स्पष्ट पारेका छन् ।
साथै, उत्ररपुस्तिका परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको छ र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको उनले बताए ।
पुनर्योगको शुल्क वृद्धि गरिएको भन्ने विषयमा पनि स्पष्ट पार्दै मन्त्री पोखरेलले यो निर्णय वर्तमान सरकारले नगरेको बताए । उनले भनेका छन्, उक्त शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागू भएको हो र यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय गरेको छैन।
उनले भनेका छन्, “यस वर्ष नतिजा “असामान्य रूपमा छिटो” आएको भन्दा पनि विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको हो। हामीले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरेका मात्र हौँ। पुनः स्पष्ट पार्न चाहन्छु, उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन। बरु आवश्यक जनशक्ति बढाइएको छ, समपरीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ, र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ।”