काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर छुटेका व्यक्ति पुनः लागूऔषधकै कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।
शनिबार काठमाडौंको बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले पर्साको पटेवा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैयालाई गोली हानेर पक्राउ गरेको हो । उनी तीन वर्ष कैद भूक्तान गरेर ६ महिनाअघि मात्र छुटेका थिए ।
उनीसँगै कारोबारमा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलालीको टिकापुर नरगपालिका ५ घर भएका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका ३ घर भएका २० वर्षीय निरज कुमार मण्डल रहेका छन् ।
भारतबाट लागूऔषध खैरो हिरोइन ल्याइ कारोबार गरिरहेको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जनाए अनुसार, उनीहरूलाई रोकिन भन्दै सुरुमा हवाइ फायर गरिएको थियो ।
उनीहरू नमानेर भाग्न थालेपछि प्रहरीले एक जनाको घुँडा मुनि गोली हानिएको जनाएको छ । गोली लागेर घाइते भएका ओझैयालाई ट्रमा अस्पतालमा उपचारका लागि लगिएको छ ।उनीहरूको साथबाट तीन सय ग्राम खैरो हिरोइन, मोबाइल ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेका ओझैया यसअघि पनि लागूऔषध मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन् । ३ वर्ष कैद र एक लाख ४ हजार जरिवाना तिरेर उनी ०८२ पुस १७ गते नख्खु कारागारबाट छुटेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दुर्गाराज रेग्मीले बताएका छन् ।