काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभावका साथै पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशका विभिन्न भागमा मौसम फरक–फरक रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकासहित केही पहाडी जिल्लाहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
पश्चिम तथा मध्य तराईका केही स्थानमा भने आज पनि ’तातो लहर’को जोखिम कायमै छ । नेपालगञ्ज र धनगढी लगायतका क्षेत्रमा अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ, जहाँ वर्षाको सम्भावना न्यून छ।
मौसम विभागले वर्षा हुने क्षेत्रमा चट्याङबाट बच्न र अत्यधिक गर्मी हुने तराईका जिल्लाहरूमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मनसुन सक्रिय भएसँगै कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा बदली र वर्षाको क्रम सुरु भइसकेको छ ।