आइतवार, श्रावण २४ गते २०८३

फिफा विश्वकप २०२६ –उज्बेकिस्तानविरुद्ध क्रिस्टियानो रोनाल्डो र पोर्चुगललाई कमब्याकको दबाब

मंगलवार , आषाढ ९, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को दोस्रो खेलमा आज पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको राष्ट्र उज्बेकिस्तानको सामना गर्दैछ। अमेरिकाको हस्टनस्थित एनआरजी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०।४५ बजे सुरु हुनेछ।

पहिलो खेलमा अप्रत्याशित नतिजा बेहोरेका दुवै टोलीका लागि यो खेल करो वा मरो जस्तै बनेको छ। पोर्चुगल आफ्नो पहिलो खेलमा डीआर काङ्गोसँग १–१ को बराबरीमा रोकिएको थियो भने उज्बेकिस्तान कोलम्बियासँग ३–१ ले पराजित भएको थियो।

पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोका लागि यो खेल पुनरागमन गर्ने ठूलो अवसर हो। पहिलो खेलमा डीआर काङ्गोको डिफेन्सले रोनाल्डोलाई पूर्ण रूपमा रोकेको थियो, जहाँ उनले जम्मा २५ पटक मात्र बल छुन पाएका थिए। ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार १० खेलसम्म गोल गर्न नसकेका कारण रोनाल्डोमाथि आलोचना बढिरहेको छ।

यद्यपि, पोर्चुगिज डिफेन्डर रुबेन डियासले यी आलोचनाहरूलाई बाहिरी हल्ला र हल्लाखल्लाू मात्र भन्दै टिम पूर्ण रूपमा केन्द्रित रहेको बताएका छन्। रोनाल्डोले पनि सामाजिक सञ्जालमा आफ्ना सहकर्मीहरूसँगको तस्बिर सेयर गर्दै सधैं एकजुट भनी टोलीको मनोबल उच्च राख्ने सन्देश दिएका छन्।

उज्बेकिस्तानका फुटबल फ्यान र खेलाडीहरूका लागि क्रिस्टियानो रोनाल्डो लामो समयदेखि एक प्रेरणाका स्रोत रहँदै आएका छन्। तर आजको खेलमा उनीहरू आफ्नो त्यही आइडल विरुद्ध मैदानमा उत्रिँदै छन्।

कोलम्बियाविरुद्धको खेलमा अब्बोसबेक फ्याजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानका लागि ऐतिहासिक पहिलो विश्वकप गोल दर्ता गराएका थिए। युवा प्रतिभाहरूले भरिएको उज्बेकिस्तान पोर्चुगल जस्तो बलियो टोलीलाई स्तब्ध पार्दै विश्वकपमा आफ्नो पहिलो ऐतिहासिक अङ्क जोड्ने दाउमा छ।

राउन्ड अफ ३२ को दौडमा कायमै रहन दुवै टोलीलाई आजको खेलमा ३ अङ्क निकै महत्त्वपूर्ण छ।

प्रतिक्रिया
सम्बन्धित समाचार