नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०८३\८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले १९औँ नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। उपमहानगरपालिकामा उपप्रमुखको पद हाल रिक्त रहेको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्ति लगायतका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। यसका लागि भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने उल्लेख गरिएको छ।
त्यस्तै, उपमहानगरपालिकाभित्र रहेका कान्ति ताल, वाटरपार्क र रानी तलाउको संरक्षणलाई प्राथमिकता दिइएको छ। साथै फुटाहा तालको स्तरोन्नति र धोबी घाटको संरक्षण कार्यलाई पनि अघि बढाइने जनाइएको छ।
कृषि क्षेत्रको विकासका लागि सिँचाइ, उन्नत बीउ तथा मलको सहज उपलब्धता सुनिश्चित गरिने तथा कृषि उत्पादनको बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गरिने नीति लिइएको छ। पुष्पखेती, सामूहिक खेती र लिज खेतीजस्ता व्यावसायिक खेती प्रणालीलाई प्रोत्साहन गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक पेसाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
उपमहानगरभित्र बसोबास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरू बसोबास गरिरहेका क्षेत्रको नक्साङ्कन कार्यलाई निरन्तरता दिइने भएको छ।
साथै नेपालगञ्जलाई शैक्षिक हबका रूपमा विकास गर्न नगर शिक्षा योजना अद्यावधिक गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई समयानुकूल परिमार्जन गर्ने र शैक्षिक सुशासनका लागि विद्यालय अनुगमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
यसका अतिरिक्त उद्योग, व्यापार तथा व्यवसाय, श्रम रोजगार तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण, आवास तथा बस्ती विकास, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजस्व तथा स्रोत परिचालनलगायतका क्षेत्रमा समेत नीति, कार्यक्रम तथा बजेट केन्द्रित गरिएको छ।
नगरसभामा प्रमुख विष्टले आर्थिक वर्ष २०८३\८४ का लागि कुल १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको आय–व्यय बजेट प्रस्तुत गरेका छन्।