विराटनगर । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने एक ट्याङ्करबाट करिब एक हजार लिटर पेट्रोल चोरी भएको छ।
भारतको सिलिगुरी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते विराटनगर आइपुगेको श्री नविन ढुवानी सेवाुको को १ ख ६९९० नम्बरको ट्याङ्कर असार ८ गते बिहान कञ्चनवारीस्थित पार्किङ्गस्थलबाटै हराएको थियो।
निगमका अनुसार असार ८ गते बिहान ९०० बजे ढुवानीकर्ताले ट्याङ्कर हराएको जानकारी दिएपछि खोजी कार्य सुरु गरिएको थियो। सीसीटीभी फुटेज जाँच गर्दा उक्त ट्याङ्कर बिहान ३स्०३ बजे नै पार्किङ्गस्थलबाट बाहिरिएर नोवेल अस्पतालतर्फ मोडिएको देखिएको थियो।
खोजतलासका क्रममा उक्त ट्याङ्कर विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका ८ स्थित हुलाकी राजमार्गमा बेवारिसे अवस्थामा फेला परेको थियो। फेला पर्दा ट्याङ्करको सुरक्षा लक ९क्ीक्० काटिएको अवस्थामा थियो।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी र पत्रकारहरूको रोहवरमा ट्याङ्करको सिल खोली नापजाँच गर्दा ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। ट्याङ्करमा बाँकी रहेको १९,०२७ लिटर पेट्रोल निगमको भण्डारणमा खाली गरिएको छ।
ढुवानीकर्तालाई कारबाही
पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ को व्यवस्था अनुसार चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गर्ने निर्णय निगमले गरेको छ। कार्यालय प्रमुख पुस्कर कार्कीका अनुसार चोरी भएको ९७३ लिटर पेट्रोलको क्षतिपूर्तिबापत ढुवानीकर्ताले दोब्बर रकम तिर्नुपर्नेछ।
यसैबीच, निगमले यस घटनाका सम्बन्धमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका ूआधारहीनू समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनाको विषयमा सरकारी निकायबाट थप अनुसन्धान भइरहेकोले तथ्यहीन समाचारको पछि नलाग्न निगमले सबैमा अनुरोध गरेको छ।