आइतवार, श्रावण २४ गते २०८३

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को, आफ्नै भवनबाट सेवा दिने तयारी

बिहिवार , आषाढ ११, २०८३

 

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति गरेको छ । हालसम्म साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरेर सेवा प्रवाह गर्दै आएको गाउँपालिका अब आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा छ।

धवलागिरि–३ घट्टेखोलामा स्थानीयले निःशुल्क उपलब्ध गराएको १४ रोपनी जग्गामा सङ्घीय सरकारसँगको साझेदारीमा निर्माण भइरहेको प्रशासकीय भवनको काम अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको निर्माण कार्य हाल करिब ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार चालु आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भवन निर्माणका लागि प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

निर्माण सामग्रीको मूल्यवृद्धि र सङ्घीय सरकारबाट भुक्तानी ढिलो हुँदा काममा केही प्रभाव परेको निर्माण कम्पनीले जनाएको छ। गाउँपालिकाले निर्माण व्यवसायीलाई करिब तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताएको छ। चालु आर्थिक वर्षमा हालसम्म सङ्घीय सरकारबाट ६० लाख रुपैयाँ मात्रै बजेट प्राप्त भएकाले थप बजेटका लागि पहल भइरहेको छ।

शर्माले अन्तिम पटक थपिएको समयसीमाभित्रै निर्माण सम्पन्न गराउन निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिएको बताए। उनका अनुसार चालु आर्थिक वर्षभित्र भवनको संरचना निर्माण सकिएमा आगामी आर्थिक वर्षको असोज–कात्तिकसम्म फर्निचर तथा अन्य आवश्यक व्यवस्थापन पूरा गरेर नयाँ भवनबाटै सेवा सञ्चालन गरिनेछ।

म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन निर्माण गर्ने पहिलो गाउँपालिका बन्ने तयारीमा रहेको धवलागिरिको तीनतले भवनमा २७ वटा कोठा, एक सभाहल र एक बैठक कक्ष रहनेछ।

गाउँपालिकाले प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवन निर्माणलाई पनि तीव्रता दिएको छ। धवलागिरि–७ ताकममा पाँच शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ भने गुर्जा, मल्कबाङ, मुना र मुदीमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेका छन्। लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकी भवन निर्माण भएका थिए।

सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालय भवन निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। धवलागिरि–२, वडा नम्बर ४ मुदी, वडा नम्बर ६ मराङ र वडा नम्बर ७ ताकममा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको छ। वडा नम्बर ५ मल्कबाङमा भने गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह भइरहेको छ।

धवलागिरि–४ का वडाध्यक्ष यामबहादुर घर्तीका अनुसार विद्यालय तथा अन्य निकायका साँघुरा भवनबाट सेवा दिनुपर्ने अवस्था अन्त्य हुँदै गएको छ। आफ्नै वडा कार्यालय भवन बनेपछि सेवा प्रवाह सहज र व्यवस्थित भएको उनले बताए। गाउँपालिकाले गुर्जामा पनि वडा कार्यालय भवन निर्माण गर्ने योजना अघि बढाएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विद्यालय भवन, खेलमैदान, सामुदायिक स्वास्थ्य इकाइ तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्ने जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार