भोजपुर। भोजपुरमा वन संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। डिभिजन वन कार्यालय भोजपुरको पहलमा जिल्लाका चार सामुदायिक वन क्षेत्रमा संरक्षण पोखरी निर्माण सम्पन्न भएको हो।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाका अनुसार आहाले सामुदायिक वन, ढोडे बैखाके सामुदायिक वन, भद्रासे चारेभिर सामुदायिक वन र हर्कटे आमलाला सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ। भौगोलिक रूपमा पानीको अभाव हुने तथा गर्मी याममा सुक्खा हुने यी क्षेत्रमा निर्माण गरिएका पोखरी वन्यजन्तुका लागि स्थायी पानीको स्रोत बन्ने अपेक्षा गरिएको छ।
प्रमुख मियाले सामुदायिक वनमा संरक्षण पोखरी निर्माण कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताए। उनका अनुसार हालसम्म चार वटा वन क्षेत्रमा पोखरी निर्माण सम्पन्न भइसकेको छ भने आगामी दिनमा थप विस्तार गरिनेछ।
उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा आएको असन्तुलनले वन क्षेत्रमा पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै संरक्षण पोखरीले वन्यजन्तु, वनस्पति तथा समग्र पारिस्थितिक प्रणाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। वन संरक्षण केवल रूख जोगाउने कार्यमा मात्र सीमित नभई पानी, माटो र जैविक विविधताको सन्तुलन कायम गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।
वन अधिकृत नर मुहमत मियाले संरक्षण पोखरीको बहुआयामिक महत्व रहेको बताए। उनका अनुसार वन्यजन्तुका लागि पानीको सुनिश्चिततासँगै यस्ता पोखरी वन डढेलो नियन्त्रणमा पनि प्रभावकारी हुन्छन्।
उनले डढेलो लागेको अवस्थामा तत्काल पानी उपलब्ध हुँदा आगो नियन्त्रण गर्न सहज हुने र यसले वन क्षति न्यून गर्न प्रत्यक्ष सहयोग पुग्ने बताए। साथै, यस्ता पोखरी वन क्षेत्रमा आपतकालीन पानीको स्रोतका रूपमा पनि उपयोगी हुने उनको भनाइ छ।
कार्यालयका अनुसार संरक्षण पोखरीले भूमिगत पानी पुनर्भरण (रिचार्ज) मा समेत सहयोग पुर्याउँछ। वर्षायाममा सङ्कलित पानी पोखरीमा सञ्चित भई बिस्तारै जमिनमा सोसिने भएकाले आसपासका क्षेत्रको जलस्तर कायम राख्न मद्दत पुग्ने विश्वास गरिएको छ। यसले दीर्घकालीन रूपमा स्थानीय कृषिमा समेत सकारात्मक प्रभाव पार्ने सरोकारवालाको भनाइ छ।
आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट चार वटा रिचार्ज पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको पनि कार्यालयले जनाएको छ।
सामुदायिक वन उपभोक्ता समूहको सक्रिय सहभागिताले निर्माणकार्य सहज बनेको कार्यालयको भनाइ छ। स्थानीयवासी रामकुमार राईले संरक्षण पोखरी निर्माणपछि समुदायमा सकारात्मक परिवर्तन देखिन थालेको बताए।
उनका अनुसार पहिले गर्मी याममा वन अत्यन्त सुक्खा हुने, पानीको अभावका कारण वन्यजन्तु गाउँतिर आउने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने समस्या थियो। संरक्षण पोखरी निर्माणपछि त्यस समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
सरोकारवालाका अनुसार यस्ता साना तर प्रभावकारी पूर्वाधारले दीर्घकालीन रूपमा ठूलो वातावरणीय लाभ दिन्छन्। विशेषगरी पहाडी भूभागमा पानीको स्रोत व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले संरक्षण पोखरीजस्ता संरचना अत्यन्त उपयोगी मानिन्छन्।
डिभिजन वन कार्यालय, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रम भोजपुरमा वन संरक्षणको सफल अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। आगामी दिनमा जिल्लाका अन्य सामुदायिक वन क्षेत्रमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।