बुधवार, आश्विन १४ गते २०८३

समयमै काम नसक्ने १० निर्माण व्यवसायीलाई ठेक्का तोड्ने चेतावनी

मंगलवार , आषाढ १६, २०८३

भक्तपुर । सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता बमोजिम काम सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायी तथा फर्महरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ।

कार्यालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र बाँकी काम सम्पन्न गरी भुक्तानीका लागि बिल पेस गर्न अन्तिम अल्टिमेटम दिएको हो।

डिभिजन कार्यालयका अनुसार ती निर्माण व्यवसायीहरूले सम्झौता अनुसारको समयमा काम पूरा नगरेको र पटक(पटक मौखिक तथा टेलिफोनमार्फत जानकारी गराउँदा पनि कार्य प्रगति सन्तोषजनक नदेखिएपछि यो कदम चालिएको हो। सूचनामा भनिएको छ, ‘उल्लिखित अवधिभित्र ठेक्का सम्पन्न गरी बिल प्राप्त हुन नआएमा ठेक्का सम्झौताको सर्तहरू तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को प्रावधान अनुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइनेछ।’

कारबाहीको चेतावनी पाउने योजनाहरूमा अरनिको राजमार्ग ९चाल्नेढुङ्गा खावा लामिडाँडा दोलालघाट खण्डको स्तरोन्नति, बोहोरेदोभान ठुलोपार्सेल सडक, बाहाखा बजार मनोहरा पुल सडक, र ठिमी चारदोबाटोको पैदलयात्री आकाशे पुल निर्माण जस्ता महत्वपूर्ण आयोजनाहरू रहेका छन्।

यस्तै, ग्वार्को लाकुरी भन्ज्याङ(पनौती सडक र तेमाल ग्रामीण नगरपालिकाका विभिन्न सडक खण्डको काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीहरूलाई पनि सचेत गराइएको छ।

ठेक्का तोड्ने चेतावनी पाउने निर्माण कम्पनीहरूमा ओम निलकण्ठेश्वर कन्स्ट्रक्सन, कान्तिपथ कन्स्ट्रक्सन, माता चुनदेवी कन्स्ट्रक्सन, बीजी कन्स्ट्रक्सन, जय खाँडादेवी इन्जिनियरिङ, थापारइम्यानुअल जे।भी।, एम।के। सनलाइट जे।भी।, लामा कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पी एण्ड केरपपुलर जे।भी. र गौतम कन्स्ट्रक्सन रहेका छन्।

डिभिजन प्रमुखका तर्फबाट जारी यस सूचनाले विकास निर्माणमा ढिलासुस्ती गर्ने व्यवसायीहरूलाई जवाफदेही बनाउन खोजेको देखिन्छ। तोकिएको ७ दिनभित्र पनि काममा उल्लेख्य प्रगति नभए यी कम्पनीहरू कालोसूचीमा पर्ने र ठेक्का रद्द हुने सम्भावना बढेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार