काठमाडौँ ।लामो समयदेखि नेपाली भूमिमा बसेर पनि पहिचान र स्वामित्वबाट बञ्चित रहेका पश्चिम नवलपरासीको सुस्ताका स्थानीय बासिन्दाहरू लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्।
आफ्नो थातथलोको सुरक्षा र राज्यबाट पाउनुपर्ने आधारभूत अधिकारको ग्यारेन्टी गर्न माग गर्दै उनीहरू काठमाडौं आएका हुन्।
पीडित सुस्तावासीहरूले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरू गरेका छन्।नेपाल र भारतबीचको सीमा विवादका विषयमा केही समयअघि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र त्यसलगत्तै मन्त्रीस्तरबाट आएको वक्तव्यका कारण सीमा क्षेत्रमा तनाव बढेको सुस्तावासीको भनाइ छ।
उक्त राजनीतिक र कूटनीतिक अभिव्यक्तिका कारण सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी,एसएसबी बाट आफूहरूले थप दुःख, सास्ती र मानसिक तनाव झेल्नुपरेको गुनासो उनीहरूले गरेका छन्।
राज्यस्तरबाट हुने छलफल र अभिव्यक्तिको प्रत्यक्ष असर आफूहरूले भोग्नुपरेको भन्दै उनीहरूले स्थायी समाधानका लागि दबाब दिन काठमाडौंको यात्रा तय गरेका हुन्।