काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।
सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रबाट एक एक जनालाई नियुक्त गरिएको हो ।
मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कार्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना लाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।
सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
मनोनित सदस्यहरूमध्ये डा.अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित छिन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि प्राप्त उनले सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा उल्लेखनीय अध्ययन तथा अनुसन्धान गरेकी छन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुन् । इन्जिनियरिङ पृष्ठभूमिका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गरेका छन् ।
उद्योग क्षेत्रको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता, उत्पादन प्रणाली र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, कर्खानाका सह–संस्थापक डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि प्राप्त गरेका छन् ।
नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको व्यावसायिक क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवद्र्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा उनले उल्लेखनीय योगदान दिएका छन् ।
नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन् ।
हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उनी यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताल लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वास कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हालेकी थिइन् ।