काठमाडौं । मन्त्रीपरिषद् बैठकले शिक्षा नियमावलीको दशौं संशोधन,२०८३ स्वीकृत गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त संशोधन स्वीकृत गरेको हो ।
तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयलमा सरुवा हुने भएको छ । शिक्षा नियमावली (१०औं संशोधन) मा भनिएको छ, ‘स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिनेछ ।’
निजी विद्यालयले विद्यालय खोल्न माध्यमिक तहमा १० लाख र आधारभूत तहमा ५ लाख धरौटी राख्नुपर्ने भएको छ । यसअघि माध्यमिक विद्यालयको धरौटी दुई लाख रुपैयाँ थियो ।
अब सामुदायिक विद्यालयमा भने धरौटी रकम राख्नुपर्ने छैन । यसअघि सामुदायिक विद्यालयको माध्यमिक तह खोल्न १ लाख रुपैयाँ धरौटी राख्नुपर्ने थियो ।
संशोधिन नियमावलीमा सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरिने, माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन १४ वर्ष पुरा भएकै हुनुपर्ने प्रावधान हटाइने लगायतका व्यवस्था समेटिएको छ ।